हिंसाबाट समाधान ननिस्कने भन्दै ओलीको संवाद र सहमतिमा जोड

३ हप्ता अगाडि
हिंसाबाट समाधान ननिस्कने भन्दै ओलीको संवाद र सहमतिमा जोड

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा विकसित पछिल्लो तनावपूर्ण परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै हिंसा र द्वन्द्वबाट कुनै पनि समस्याको समाधान ननिस्कने बताएका छन्। उनले सबै पक्षलाई संयमता अपनाउँदै संवाद र सहमतिमार्फत समस्या समाधान गर्न आग्रह गरेका छन्।

बिहीबार जारी अपिलमा अध्यक्ष ओलीले जनतालाई आपसमा विभाजित गरी अवाञ्छित उद्देश्य पूरा गर्न विभिन्न प्रकारका षड्यन्त्र हुन सक्ने भएकाले त्यसप्रति सचेत रहन सबैलाई आग्रह गरेका छन्।

उनले मुलुक विषम परिस्थितिबाट गुज्रिरहेका बेला प्रमुख राजनीतिक दलहरूले आपसी प्रतिस्पर्धा, आरोप–प्रत्यारोप र सस्तो लोकप्रियताभन्दा माथि उठेर राष्ट्रिय हितलाई केन्द्रमा राखी शान्ति, सुरक्षा र स्थायित्व कायम गर्न सहकार्य गर्नुपर्ने बताएका छन्।

राष्ट्रको अस्तित्व, सामाजिक सद्भाव र शान्ति–सुरक्षामाथि चुनौती देखिएको उल्लेख गर्दै ओलीले राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी तथा धार्मिक र सामाजिक अगुवाहरूलाई राष्ट्रिय एकता र शान्ति स्थापनाका लागि साझा पहल गर्न आह्वान गरेका छन्।