काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज पनि विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले विशेषगरी पहाडी भूभागका केही स्थानमा भारी वर्षा हुन सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ।
विभागका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
दिउँसो वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
रातिको समयमा पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। साथै मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी तथा तराईका केही स्थान र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।
राति कोसी प्रदेशका पहाडी तथा तराई क्षेत्र, साथै वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ भने मनसुनको न्यूनचापीय रेखा औसत स्थानकै आसपास रहेकाले आगामी केही दिन पनि वर्षाको क्रम जारी रहने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।