काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका सबै तहका समिति, नेता तथा कार्यकर्तालाई संयमित, जिम्मेवार र जनउत्तरदायी भूमिका निर्वाह गर्न निर्देशन दिएका छन्।
तराई-मधेशमा धार्मिक हिंसाको घटनापछि थापाले काठमाडौंमा उपलब्ध पार्टी पदाधिकारी, कोशी र मधेश प्रदेशका प्रदेशसभा सदस्य तथा स्थानीय जनप्रतिनिधिसँग भर्चुअल बैठक गरेका थिए।
बैठकमा उनले सामाजिक सद्भाव, शान्ति र आपसी विश्वास कायम राख्नु अहिलेको सबैभन्दा ठूलो जिम्मेवारी भएको बताए।
उनले हिंसा, तोडफोड, आगजनी वा कानुनविपरीतका कुनै पनि गतिविधिमा संलग्न व्यक्तिलाई नेपाली कांग्रेसले कुनै पनि हालतमा संरक्षण नगर्ने स्पष्ट पारे।
थापाले यस्ता गतिविधिमा पार्टीका सदस्य वा कार्यकर्ता संलग्न भएको पाइए उनीहरूलाई पनि पार्टीले क्षमा नगर्ने चेतावनी दिए।
निर्वाचनमा हार-जित लोकतान्त्रिक प्रक्रियाको स्वाभाविक पक्ष भएकाले अहिले सरकारलाई सहयोग गर्नुपर्ने उल्लेख गर्दै उनले राष्ट्र, लोकतन्त्र, संविधान र सामाजिक सद्भावको रक्षा गर्नु कांग्रेसको ऐतिहासिक दायित्व भएको बताए। साथै दोषीमाथि निष्पक्ष कारबाही, घाइतेको उपचार र पीडितलाई न्याय दिलाउन सरकारसँग माग गरेका छन्।