काठमाडौं । आज देशका विभिन्न प्रदेशका केही भूभागमा भारी वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागका अनुसार हाल देशभर मनसुनी वायु सक्रिय रहेको छ। साथै, मनसुनको न्यूनचापीय रेखा पश्चिम क्षेत्रमा सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्व क्षेत्रमा सरदर स्थानको आसपास रहेकाले वर्षाको गतिविधि बढ्ने अनुमान गरिएको छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली भूभागका केही स्थान तथा पहाडी भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। तराईका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुन सक्ने विभागले जनाएको छ।
वाग्मती, गण्डकी, कर्णाली, कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। विशेषगरी वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
रातिको समयमा पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली र पहाडी भूभागका केही तथा तराईका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
यस्तै, कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्र, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले नदी–नाला आसपासका बासिन्दा तथा यात्रुहरूलाई विशेष सावधानी अपनाउन विभागले अनुरोध गरेको छ।