राजमार्ग अवरुद्ध

देशका विभिन्न राजमार्ग अवरुद्ध, केही सडकमा राति सवारी सञ्चालनमा रोक

३ हप्ता अगाडि
देशका विभिन्न राजमार्ग अवरुद्ध, केही सडकमा राति सवारी सञ्चालनमा रोक

काठमाडौं । अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग र सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीले आज बिहान ५ बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा अवरुद्ध भएको तथा केही सडकमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको जनाएको छ।

प्रहरीका अनुसार काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

यस्तै, कान्तिलोकपथमा पनि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारी सञ्चालनमा प्रतिबन्ध लगाइएको छ।

इलाम नगरपालिका–९ स्थित मेची राजमार्गमा लगातारको वर्षापछि सडक हिलाम्मे बनेकाले सवारी आवागमन पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत अरनिको राजमार्गको जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

त्यसैगरी, दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारस्थित लामासाँघु–रामेछाप सडकखण्डमा सामाकोशी खोलाको बहावले सडक कटान गरेपछि उक्त सडक पनि बन्द भएको छ।

रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित पासाङ ल्हामु सडकखण्डमा त्रिशूली नदीले सडक कटान गरेकाले त्यहाँ पनि सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।

नेपाल प्रहरीले वर्षायाममा पहिरो, बाढी र सडक कटानको जोखिम उच्च रहने भएकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन र आवश्यक सतर्कता अपनाउन सबै यात्रुलाई अनुरोध गरेको छ।