काठमाडौं। देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ। अहिले सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहेको छ भने देशका बाँकी अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली छ। कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षासँगै हिमपातको सम्भावना रहेको छ भने पहाडी क्षेत्रमा धेरै र तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ। यस क्रममा कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ। कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ। साथै, कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका धेरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यसैगरी, मधेस प्रदेश तथा कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै स्थान र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा पनि मध्यम वर्षा हुने अनुमान गरिएको छ। कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्र, मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
महाशाखाले भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले मौसमसम्बन्धी पछिल्ला सूचना नियमित रूपमा अद्यावधिक गर्दै सुरक्षित रहन महाशाखाले अनुरोध गरेको छ।