काठमाडौं । अविरल वर्षा, पहिरो र बाढीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीले आज बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा अवरुद्ध भएको र केही सडकमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको जनाएको छ।
प्रहरीका अनुसार काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमका कारण बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। यस्तै, कान्तिलोकपथमा पनि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा प्रतिबन्ध लगाइएको छ।
यता, इलाम नगरपालिका–९ स्थित मेची राजमार्गमा वर्षाका कारण सडक हिलाम्मे भएपछि सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्गको जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खस्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।
त्यसैगरी, दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारस्थित लामासाँघु–रामेछाप सडकखण्डमा सामाकोशी खोलाको बहावले सडक कटान गरेपछि आवागमन ठप्प भएको छ। रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली नदीले सडक कटान गर्दा पासाङ ल्हामु राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ।
गोरखाको धार्चे गाउँपालिका–३ अन्डरडाँडामा पहिरो खस्दा लार्के–बेनीघाट कच्ची सडक पनि पूर्ण रूपमा बन्द भएको प्रहरीले जानकारी दिएको छ।
वर्षायाममा पहिरो, बाढी र सडक कटानको जोखिम उच्च रहेकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न तथा आवश्यक सतर्कता अपनाउन नेपाल प्रहरीले सबैमा अनुरोध गरेको छ।