विराटनगर । देवानगञ्ज घटनापछि प्रभावित बनेको सुनसरीको जनजीवन बिस्तारै सामान्य अवस्थामा फर्किन थालेको छ।
गत आइतबार राति दुई समुदायबीच भएको झडपका क्रममा सशस्त्र प्रहरीको गोली लागेर देवानगञ्जका ओमप्रकाश मेहताको मृत्यु भएपछि सुनसरीका विभिन्न क्षेत्रमा प्रदर्शन, आगजनी र तोडफोड भएको थियो। त्यसपछि इनरुवा, भोक्राहा नरसिंह, कोशी गाउँपालिकालगायत क्षेत्रमा पनि तनाव फैलिएको थियो।
जिल्ला प्रशासन कार्यालयले नौ वटा स्थानीय तहमा कर्फ्यु जारी गरेको थियो। कर्फ्युकै बीचमा गोली लागेर घाइते जयप्रकाश मेहताको उपचारका क्रममा मृत्यु भएपछि मधेशका अन्य जिल्लामा पनि प्रदर्शन चर्किएको थियो। सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर गणेश यादवको मृत्यु भएपछि अवस्था थप तनावग्रस्त बनेको थियो।
गृहमन्त्री सुधन गुरुङसँग भएको सहमतिपछि आन्दोलन स्थगित भएसँगै सुनसरीमा लगाइएको कर्फ्यु हटाइएको छ।
सरकारले गोलीकाण्डमा ज्यान गुमाएका परिवारलाई संघीय सरकारबाट १० लाख रुपैयाँ, देवानगञ्ज गाउँपालिकाबाट १० लाख रुपैयाँ तथा प्रदेश सरकारबाट २ लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ। साथै मृतकलाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाउने सहमतिपछि अवस्था क्रमशः सामान्य बन्दै गएको छ।
कर्फ्यु हटेसँगै इनरुवासहितका बजारमा व्यापारिक गतिविधि पुनः सञ्चालनमा आएका छन्। बैंक तथा वित्तीय संस्था खुलेका छन् भने लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधन पनि नियमित सञ्चालन हुन थालेका छन्। यद्यपि स्थानीयवासीमा त्रास भने अझै पूर्ण रूपमा हटिनसकेको बताइएको छ।