काठमाडौं । देशका मध्य तथा पूर्वी क्षेत्रका धेरैजसो स्थानमा वर्षा भइरहेको छ। काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार पछिल्लो तीन घण्टामा गण्डकी प्रदेशका धेरै स्थानमा उल्लेखनीय वर्षा भएको छ। तनहुँमा सबैभन्दा धेरै ५२.४ मिलिमिटर वर्षा मापन गरिएको छ।
हाल पनि विभिन्न स्थानमा वर्षा जारी रहेकाले थप वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
आज दिउँसो पहाडी क्षेत्रका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै, बागमती र गण्डकी प्रदेशका तराईका धेरै स्थान तथा मधेश प्रदेशसँगै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा पनि मेघगर्जन/चट्याङसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्छ। विशेषगरी गण्डकी र बागमती प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा अति भारी वर्षाको सम्भावना रहेकाले पहिरोको जोखिम भएका क्षेत्रमा उच्च सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।
साथै, पहाडी क्षेत्रका सडकमार्गमा यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई मौसम र सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न तथा आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।