उद्योगी प्रकाश मुन्दडाको घर–कार्यालयमा ५ घण्टा प्रहरी खानतलासी, केही पनि फेला परेन

४ दिन अगाडि
उद्योगी प्रकाश मुन्दडाको घर–कार्यालयमा ५ घण्टा प्रहरी खानतलासी, केही पनि फेला परेन

विराटनगर । विराटनगरका प्रतिष्ठित उद्योगी तथा मोरङ व्यापार संघका पूर्वअध्यक्ष प्रकाश मुन्दडाको निवास र कार्यालयमा प्रहरीले सोमबार बिहान झन्डै पाँच घण्टा खानतलासी गरेको छ। अवैध रूपमा ठूलो परिमाणमा नगद राखिएको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङको टोली बिहानै छापा मार्न पुगेको थियो।

प्रहरीले विराटनगर७ स्थित मुन्दडाको घर तथा कार्यालयमा बिहान ५ बजेदेखि खोजतलास सुरु गरेको थियो। त्यस क्रममा सुरक्षाका लागि क्षेत्रलाई नियन्त्रणमा लिँदै सर्वसाधारणको आवतजावतसमेत रोकिएको थियो। करिब १२ वटा प्रहरी गाडी परिचालन गरेर घरका सबै कोठा, दराज, बाकस तथा कार्यालयका कागजातसमेत सूक्ष्म रूपमा जाँच गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मुन्दडामाथि लामो समयदेखि अवैध हुन्डी कारोबारमा संलग्न रहेको सूचना प्राप्त भएपछि खानतलासी गरिएको हो। तर खोजतलासका क्रममा कुनै पनि अवैध नगद वा गैरकानुनी सामग्री फेला नपरेपछि प्रहरी टोली फर्किएको थियो।

खानतलासीपछि सञ्चारकर्मीसँग कुरा गर्दै उद्योगी मुन्दडाले प्रहरीले कानुनी प्रक्रिया पूरा गरेर घरमा खोजतलास गरेको र केही पनि नभेटेपछि फर्किएको बताए। जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक कवित कटुवालले पनि सूचनाका आधारमा खानतलासी गरिएको तर कुनै अवैध वस्तु फेला नपरेको पुष्टि गरेका छन्।