सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका-२ स्थित मध्यपहाडी लोकमार्गमा सोमबार भएको सडक दुर्घटनामा कार सुनकोसी नदीमा खस्दा तीनजना बेपत्ता भएका छन्। दुर्घटना बिहान करिब ११ः४५ बजे भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
प्रहरीका अनुसार काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको वाग्मती प्रदेश ०८-००१ ख ०१४४ नम्बरको बसले विपरीत दिशाबाट आएको कारलाई ठक्कर दिएको थियो। ठक्करपछि कार सडकबाट तल सुनकोसी नदीमा खसेको हो।
दुर्घटनापछि बस चालक २६ वर्षीय हेमबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कारमा तीनजना सवार रहेको खुलेको प्रहरीले जनाएको छ। उनीहरूमध्ये चालक दिलकुमार लामा र गोलान्जोर गाउँपालिका–१ का गणेश थापाको पहिचान खुलेको छ भने अर्का एक जनाको पहिचान अझै खुल्न बाँकी रहेको छ।
प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा बेपत्ताहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ। दुर्घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।