काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। दिनभर उतारचढाव देखिएको बजार अन्त्यमा १.२० अंकले घट्दै २६८४.३३ विन्दुमा कायम भएको हो।
आज ३४९ कम्पनीका १ करोड १४ लाखभन्दा बढी कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ५७ करोड २० लाख रुपैयाँभन्दा बढी पुगेको छ। कारोबारमा १२६ कम्पनीको सेयर मूल्य बढ्दा १४१ कम्पनीको मूल्य घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ।
समूहगत परिसूचकमा भने उल्लेखनीय उतारचढाव देखिएन। अधिकांश उपसमूह सामान्य दायराभित्र कारोबार हुँदा समग्र बजार झिनो अंकले राताम्मे बनेको हो।
कारोबारका क्रममा इस्टर्न हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै १४.९९ प्रतिशत नाफा कमाएका छन्। यता रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य सबैभन्दा धेरै ७.४० प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा पनि रिलायन्स स्पिनिङ मिल्स अग्रस्थानमा रह्यो। कम्पनीको २७ करोड ६२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। त्यसपछि दोस्रो स्थानमा एनआरएन इन्फ्रास्ट्रक्चर तथा तेस्रो स्थानमा सप्तकोशी डेभलपमेन्ट बैंक रहेका छन्।