चितवन । पहिरोका कारण केही घण्टा अवरुद्ध बनेको मुग्लिन-नारायणगढ सडक खण्ड पुनः दुईतर्फी सञ्चालनमा आएको छ। सोमबार दिउँसो मुग्लिन बजार नजिकै पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार दिउँसो करिब २:१० बजेदेखि अवरुद्ध भएको सडक पहिरो हटाएपछि साढे ३ बजेदेखि दुवैतर्फ सञ्चालनमा ल्याइएको हो। डोजर र प्राविधिक टोली परिचालन गरेर पहिरो हटाइएको कार्यालयले जनाएको छ।
यसअघि सोमबार बिहान पनि सोही सडकखण्डका विभिन्न स्थानमा पहिरो खसेको थियो। बिहान एकतर्फी रूपमा यातायात सञ्चालन गरिए पनि दिउँसो पुनः पहिरो झरेपछि सडक पूर्ण रूपमा बन्द भएको थियो।
वर्षायामका कारण उक्त सडकखण्डमा पटक–पटक पहिरो खस्ने क्रम जारी रहेकाले आवश्यक सावधानी अपनाएर मात्रै यात्रा गर्न सडक डिभिजन कार्यालय र प्रहरीले यात्रु तथा सवारी चालकलाई आग्रह गरेका छन्।