काठमाडौं । गएराति काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो १२ घण्टामा मोरङ, सुनसरी, सिन्धुपाल्चोक, अर्घाखाँची, अछाम, रुकुम, जाजरकोट र दाङमा सबैभन्दा धेरै वर्षा मापन गरिएको छ। कोशी र कर्णाली प्रदेशका केही स्थानमा अहिले पनि वर्षा जारी रहेको छ।
महाशाखाले आज दिउँसो पनि देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्र, साथै लुम्बिनी प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ । यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भेगका केही स्थानमा आरीघोप्टे वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
लगातारको वर्षासँगै नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दा, यात्रु तथा सवारी चालकलाई आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।