स्वकीय सचिव बन्न अब स्नातकदेखि डिजिटल सीप अनिवार्य, कांग्रेसले ल्यायो नयाँ मापदण्ड

२ हप्ता अगाडि
स्वकीय सचिव बन्न अब स्नातकदेखि डिजिटल सीप अनिवार्य, कांग्रेसले ल्यायो नयाँ मापदण्ड

काठमाडौं । नेपाली कांग्रेसले सांसदका स्वकीय सचिव (पीए) नियुक्तिलाई थप व्यवस्थित, पारदर्शी र योग्यतामा आधारित बनाउन नयाँ कार्यविधि लागू गरेको छ। अब सांसदको सिफारिसका आधारमा मात्र स्वकीय सचिव नियुक्ति नहुने भएको छ। न्यूनतम शैक्षिक योग्यता, उमेर, सीप र अनुभवसमेत अनिवार्य गरिने व्यवस्था कांग्रेसले गरेको हो।

सोमबार बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले "स्वकीय सचिव नियुक्ति सम्बन्धी कार्यविधि, २०८३" पारित गर्दै प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदका स्वकीय सचिव नियुक्तिका लागि नयाँ मापदण्ड लागू गरेको हो। कांग्रेसले सांसदको संसदीय भूमिका प्रभावकारी बनाउन र योग्य जनशक्ति छनोट गर्ने उद्देश्यले कार्यविधि ल्याइएको जनाएको छ।

नयाँ व्यवस्थाअनुसार स्वकीय सचिव बन्न कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। कानून, राजनीति शास्त्र, अर्थशास्त्र, सार्वजनिक प्रशासन, पत्रकारिता, सूचना प्रविधि, आमसञ्चार, कृषि, इन्जिनियरिङ, स्वास्थ्य र व्यवस्थापन अध्ययन गरेका आवेदकलाई प्राथमिकता दिइनेछ। साथै, आवेदकको उमेर कम्तीमा २१ वर्ष पुगेको हुनुपर्ने व्यवस्था गरिएको छ।

कार्यविधिले शैक्षिक योग्यतासँगै व्यावसायिक दक्षतालाई पनि विशेष महत्व दिएको छ। संसदीय प्रक्रिया, प्रतिवेदन लेखन, कम्प्युटर तथा डिजिटल उपकरण सञ्चालन, सामाजिक सञ्जाल व्यवस्थापन र तथ्य जाँच गर्न सक्ने सीप भएका व्यक्तिलाई प्राथमिकतामा राखिनेछ। संसदीय अनुसन्धान, पत्रकारिता, सार्वजनिक प्रशासन, कानुनी अभ्यास वा नीति निर्माणमा अनुभव भएकाहरूलाई समेत विशेष प्राथमिकता दिने व्यवस्था गरिएको छ।

स्वकीय सचिव बन्न इच्छुकले सम्बन्धित सांसदको सिफारिस, व्यक्तिगत विवरण, नागरिकताको प्रतिलिपि, शैक्षिक प्रमाणपत्र तथा ५०० शब्दभित्रको प्रतिबद्धता पत्र पेश गर्नुपर्नेछ। नियुक्तिपछि स्वकीय सचिवले विधेयक अध्ययन, संसदीय प्रश्न तयारी, शून्य समयका विषयवस्तु तयार गर्ने, नीति अनुसन्धान, निर्वाचन क्षेत्रका जनगुनासा व्यवस्थापन, प्रेस नोट तथा कार्यालय व्यवस्थापनमा सहयोग गर्नुपर्ने कार्यविधिमा उल्लेख छ।