नेप्सेमा दोहोरो अंकको गिरावट, सबै समूह ओरालो लाग्दा कारोबार पनि घट्यो

२ हप्ता अगाडि
नेप्सेमा दोहोरो अंकको गिरावट, सबै समूह ओरालो लाग्दा कारोबार पनि घट्यो

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घट्दै २६६३.१८ विन्दुमा बन्द भएको छ। बजार २१.१५ अंकले घटेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा कम भएको हो।

आज ३४३ वटा कम्पनीका १ करोड ७ लाख ६१ हजार ३९६ कित्ता सेयर किनबेच हुँदा कुल ४ अर्ब ७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। सोमबार ४ अर्ब ५७ करोड रुपैयाँको कारोबार भएको थियो।

कारोबारमा ५८ कम्पनीको सेयर मूल्य बढ्दा २१४ कम्पनीको मूल्य घटेको छ भने पाँच कम्पनीको मूल्य स्थिर रहेको छ। समूहगत रूपमा कारोबारमा आएका सबै १३ उपसमूहका परिसूचक राताम्मे बनेका छन्। उत्पादन तथा प्रशोधन समूह सर्वाधिक १.३१ प्रतिशतले घटेको छ।

आज एभरेस्ट कलर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै १५ प्रतिशत प्रतिफल कमाएका छन्। त्यस्तै खानीखोला हाइड्रोपावरको सेयर मूल्य १०.०७ प्रतिशतले बढेको छ। यता सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य १३.४३ प्रतिशतले घट्दा केबीएल डिबेन्चर २०८६ पनि ६.८३ प्रतिशतले ओरालो लागेको छ।

कारोबार रकमका आधारमा खानीखोला हाइड्रोपावर अग्रस्थानमा रह्यो। कम्पनीको ४० करोड ६६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। दोस्रो स्थानमा सिद्धार्थ बैंक रहेको छ, जसको १६ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।