मौसम पूर्वानुमान

राति भारी वर्षाको सम्भावना, दिउँसो पनि पानी पर्ने

२ हप्ता अगाडि
राति भारी वर्षाको सम्भावना, दिउँसो पनि पानी पर्ने

काठमाडौं । देशका विभिन्न स्थानमा आज भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसोभन्दा रातिको समयमा वर्षा अझ तीव्र हुने अनुमान गरिएको छ।

विभागका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग, साथै लुम्बिनी प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ।

दिउँसो भने कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्र, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्र, साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

आज देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी भूभागका धेरै स्थान तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ। हिमाली क्षेत्रका केही स्थानमा भने वर्षासँगै हिमपातको सम्भावना पनि रहेको छ।

रातिको समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका धेरै स्थान, साथै मधेश प्रदेशका विभिन्न क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा पनि वर्षा हुने अनुमान गरिएको विभागले जनाएको छ।

हाल मनसुनको न्यूनचापीय रेखा औसत स्थानभन्दा केही उत्तरतर्फ, नेपालको तराई भूभाग नजिक रहेकाले वर्षाको गतिविधि सक्रिय बनेको विभागको भनाइ छ।

भारी वर्षाका कारण बाढी, पहिरो, डुबान तथा नदी–खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।