काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २०.५६ अंकले घट्दै २५४४.५९ विन्दुमा बन्द भएको छ। लगातार उतारचढावबीच बजारमा गिरावट आए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही बढेको छ।
आज ३२१ वटा कम्पनीका ८४ लाख ४ हजारभन्दा बढी कित्ता सेयर ३ अर्ब ८४ करोड ८५ लाख रुपैयाँभन्दा बढीमा खरिद–बिक्री भएको छ। अघिल्लो दिन ३ अर्ब ६२ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
बुधबारको कारोबारमा सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट परिसूचक पनि घटेका छन्। समूहगत रूपमा १३ उपसमूहमध्ये उत्पादन तथा प्रशोधन समूह मात्रै हरियो रहँदा बाँकी १२ उपसमूह राताम्मे बने।
भुगोल इनर्जी, सागर डिस्टिलरी, बुङ्गल हाइड्रो र बन्दीपुर केबलकारको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यता दरमखोला इनर्जी र माबिलुङ इनर्जीका लगानीकर्ताले सबैभन्दा बढी घाटा बेहोरेका छन्।
कारोबार रकमका आधारमा साहस ऊर्जा, राधि जलविद्युत, एनआरएन इन्फ्रास्ट्रक्चर, शिवम् सिमेन्ट र युनियन हाइड्रोपावर अग्रस्थानमा रहे।