माैसम पूर्वानुमान

आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

२ हप्ता अगाडि
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ तराई भूभागनजिक रहेकाले आज देशका पाँच प्रदेशका विभिन्न क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार वाग्मती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई भूभाग, कोसी प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। यस्तै, मधेस र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने सम्भावना छ।

त्यसैगरी, कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका साथै मधेस प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ। कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने विभागले जनाएको छ।

रातिको समयमा पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा तथा हिमपात र तराईका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो, डुबान तथा सडक अवरोधजस्ता जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।