काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३.८२ अंकले घटेर २ हजार ६५४ अंकमा झरेको छ। दिनभर बजार ओरालो लाग्दा अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट देखिएको हो।
आज कारोबार भएका २७६ कम्पनीमध्ये ६४ कम्पनीको सेयर मूल्य बढ्दा २०२ कम्पनीको मूल्य घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रह्यो।
बजार घटे पनि कारोबार रकम भने सामान्य बढेको छ। अघिल्लो दिन ४ अर्ब ४० करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बिहीबार ४ अर्ब ६२ करोड रुपैयाँको सेयर किनबेच भएको छ।
समूहगत सूचकतर्फ व्यापार समूह मात्रै ०.५९ प्रतिशतले बढ्यो। बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत्, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, निर्जीवन बीमा र अन्य सबै समूहका सूचक भने घटेका छन्।
कारोबार रकमका आधारमा जलविद्युत् समूह सबैभन्दा अगाडि रह्यो। यस समूहमा मात्रै २ अर्ब ४७ करोड रुपैयाँभन्दा बढीको कारोबार भयो। त्यसपछि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स समूहको कारोबार उच्च रह्यो।
व्यक्तिगत कम्पनीतर्फ अपर लोहोरेखोलाको सेयर मूल्य १५ प्रतिशतले बढ्दै सबैभन्दा धेरै लाभ कमायो। कालंगा हाइड्रो र सानीगढ हाइड्रो पनि बढेका छन्। विपरीत रूपमा स्नो रिभर फल्स, जोशी हाइड्रोपावर र कृषि विकास बैंकको सेयर मूल्य सबैभन्दा धेरै घटेको छ।
रकमका आधारमा रिडी पावर, आँखुखोला जलविद्युत्, सोलु हाइड्रोपावर, नेसनल हाइड्रोपावर र खानीखोला हाइड्रोपावर दिनभर सर्वाधिक कारोबार हुने कम्पनी बने।