मौसम पूर्वानुमान

देशका केही स्थानमा सामान्य वर्षाको सम्भावना, भारी वर्षा नहुने

२ हप्ता अगाडि
देशका केही स्थानमा सामान्य वर्षाको सम्भावना, भारी वर्षा नहुने

काठमाडौं । देशका विभिन्न स्थानमा आज वर्षाको सम्भावना रहे पनि भारी वर्षाको जोखिम नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना पनि रहेको विभागले जनाएको छ। तराईका थोरै स्थानमा पनि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

रातिको समयमा पनि देशभर सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, तराईका केही स्थानमा पनि वर्षा हुन सक्ने विभागले जनाएको छ।

मौसमविद् विनोद पोखरेलका अनुसार आगामी तीन दिनसम्म देशमा भारी वर्षाको सम्भावना देखिएको छैन। यद्यपि, अर्को साताको मंगलबार र बुधबार केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना रहेको उनले बताए। उनका अनुसार भीषण वर्षाको सम्भावना भने हाल नदेखिएको छ।

हाल देशभर मनसुनी वायु सक्रिय रहेको छ। विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा पूर्वी क्षेत्रमा सरदर स्थानको आसपास र पश्चिमी क्षेत्रमा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेकाले मनसुनी प्रभाव कायम रहनेछ।