काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार तेस्रो दिन पनि बढेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको वृद्धिको प्रभावसँगै स्थानीय बजारमा पनि सुनको भाउ उकालो लागेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९ सय रुपैयाँ बढेर २ लाख ९६ हजार ९ सय रुपैयाँ पुगेको छ। बिहीबार सुनको मूल्य तोलामा ८ हजार रुपैयाँ बढेर २ लाख ९६ हजार रुपैयाँ कायम भएको थियो भने त्यसअघि बुधबार पनि तोलामा ४ हजार २ सय रुपैयाँले वृद्धि भएको थियो।
यससँगै पछिल्ला तीन कारोबार दिनमा मात्रै सुनको मूल्य तोलामा १३ हजार १ सय रुपैयाँले बढेको छ। लगातारको मूल्यवृद्धिले सुन खरिद गर्ने उपभोक्तामाथि थप आर्थिक भार परेको छ भने लगानीकर्ताको ध्यान फेरि बहुमूल्य धातुतर्फ केन्द्रित हुन थालेको छ।
यस्तै, चाँदीको मूल्य पनि सामान्य बढेको छ। महासंघका अनुसार आज चाँदी तोलामा १० रुपैयाँले बढेर ४ हजार ५ सय ८० रुपैयाँ पुगेको छ।