काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज अधिकांश भू-भागमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।
हाल देशभर साधारणतया बदली रहेको छ। वाग्मती र गण्डकी प्रदेशका केही स्थान तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही भू–भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आइतबार दिउँसो देशभर साधारणतया बदली रहनेछ। हिमाली भू-भागका केही स्थानमा मध्यम वर्षासँगै हिमपातको समेत सम्भावना रहेको छ।
त्यस्तै, देशका पहाडी भू–भागका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी, सुदूरपश्चिम, मधेस, कोशी, वाग्मती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थानमा पनि मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।
केही स्थानमा भारी वर्षाको सम्भावना
महाशाखाका अनुसार कोशी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भाग, कर्णाली प्रदेशको पहाडी भू–भाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आज राति पनि देशभर साधारणतया बदली रहनेछ। हिमाली भू–भागका केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
रातिको समयमा कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। मधेस प्रदेश, कर्णाली प्रदेशको पहाडी भू–भाग तथा वाग्मती प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा पनि मध्यम वर्षा हुनसक्ने पूर्वानुमान छ।
कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका साथै वाग्मती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा रातिको समयमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
बाढी–पहिरोको जोखिम, सतर्क रहन आग्रह
भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयको जोखिम बढ्न सक्ने भएकाले सम्भावित जोखिमयुक्त क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, पर्यटन, सडक तथा हवाई यातायात सेवासमेत प्रभावित हुनसक्ने भएकाले यात्रा गर्दा तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।