विश्व आदिवासी दिवस

आज विश्व आदिवासी दिवस : अधिकार, पहिचान र संस्कृतिको संरक्षणमा जोड

२ हप्ता अगाडि
आज विश्व आदिवासी दिवस : अधिकार, पहिचान र संस्कृतिको संरक्षणमा जोड

काठमाडौँ । विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति तथा जीवनपद्धतिको संरक्षण र उनीहरूले भोग्दै आएका समस्याबारे विश्वव्यापी चेतना अभिवृद्धि गर्ने उद्देश्यले आज विश्व आदिवासी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९४ डिसेम्बर २३ मा हरेक वर्ष अगस्ट ९ लाई विश्व आदिवासी दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। सन् १९८२ मा जेनेभामा संयुक्त राष्ट्रसङ्घको आदिवासी जनसङ्ख्यासम्बन्धी कार्यसमूहको पहिलो बैठक अगस्ट ९ मै बसेकाले यही दिनलाई दिवसका रूपमा छनोट गरिएको हो।

संयुक्त राष्ट्रसङ्घका अनुसार विश्वका ९० देशमा करिब ४७ करोड ६० लाख आदिवासी जनजाति बसोबास गर्छन्। उनीहरू विश्वको कुल जनसङ्ख्याको ६ प्रतिशतभन्दा कम भए पनि विश्वका सबैभन्दा गरिबमध्ये कम्तीमा १५ प्रतिशत आदिवासी समुदायका छन्। विश्वमा बोलिने करिब सात हजार भाषामध्ये ठूलो हिस्सा आदिवासी समुदायले बोल्ने गर्छन् भने उनीहरूले करिब पाँच हजार फरक संस्कृति प्रतिनिधित्व गर्छन्।

आदिवासी जनजाति समुदायले पुस्तौँदेखि आफ्ना विशिष्ट संस्कृति, परम्परा, भाषा तथा मानिस र प्रकृतिबीचको सम्बन्धसम्बन्धी परम्परागत ज्ञान र अभ्यास संरक्षण गर्दै आएका छन्। उनीहरूको सामाजिक, सांस्कृतिक, आर्थिक तथा राजनीतिक विशेषता आफू बसोबास गर्ने बहुसङ्ख्यक समुदायभन्दा पृथक हुने गर्छ।

पहिचान, परम्परागत जीवनपद्धति तथा पुर्ख्यौली भूमि, क्षेत्र र प्राकृतिक स्रोतसाधनमाथिको अधिकारका लागि आदिवासी समुदायले लामो समयदेखि संघर्ष गर्दै आएका छन्। इतिहासका विभिन्न कालखण्डमा अधिकार उल्लङ्घन हुँदै आएको र अहिले पनि उनीहरू विश्वका पछाडि पारिएका तथा जोखिममा रहेका समुदायमध्ये रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ।

दिवसका अवसरमा आदिवासी जनजातिको अधिकार, संस्कृति, भाषा, परम्परागत ज्ञान तथा प्राकृतिक स्रोतसँगको सम्बन्ध संरक्षण गर्नुपर्नेमा जोड दिइएको छ। साथै, उनीहरूलाई प्रभावित गर्ने निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने आवाजसमेत उठाइएको छ।

विश्व आदिवासी दिवसले आदिवासी जनजातिको योगदान तथा उनीहरूले भोगिरहेका चुनौतीप्रति विश्वको ध्यानाकर्षण गराउँदै उनीहरूको अधिकार, पहिचान र सम्मान सुनिश्चित गर्न सरकार, नागरिक समाज तथा अन्तर्राष्ट्रिय समुदायलाई थप प्रतिबद्ध हुन आह्वान गर्ने अवसर प्रदान गर्दै आएको छ।