चितवन । भोटेकोसी नदीमा आएको बाढीका कारण त्रिशूली र नारायणी नदीमा हालसम्म ६४ वटा शव फेला परेका छन्।
फेला परेका शवमध्ये केही सग्लो अवस्थामा छन् भने केहीका शरीरका अंग मात्रै भेटिएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार नदीमा फेला परेका शवहरू भरतपुर अस्पतालको शवगृहमा राखिएको छ।
पौडेलका अनुसार तनहुँमा फेला परेका नौवटा शव चितवन पठाइएको थियो। तर भरतपुर अस्पतालको शवगृहमा शव राख्ने ठाउँ अभाव भएपछि ती शव पुनः तनहुँ नै फिर्ता गरिएको छ।
बाढीपछि नदीमा बगेका तथा बेपत्ता भएका व्यक्तिको खोजीका लागि चितवनस्थित तीनवटै सुरक्षा निकायले नदी किनारमा खोजी कार्य सुरु गरेका छन्।
भरतपुर अस्पतालको शवगृहमा थप शव राख्न नसक्ने अवस्था भएपछि अब फेला पर्ने शवलाई औद्योगिक प्रतिष्ठानको कार्यालयमा व्यवस्थापन गर्ने तयारी गरिएको प्रहरी प्रमुख पौडेलले जानकारी दिए।
बाढीका कारण नदीको बहाव बढिरहेको र खोजी कार्य जारी रहेकाले थप शव फेला पर्न सक्ने प्रहरीले जनाएको छ।