मौसम पूर्वानुमान

देशका केही भूभागमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

४ घण्टा अगाडि
देशका केही भूभागमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

काठमाडौं । मनसुनी वायुको प्रभावका कारण आज देशका केही भूभागमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ।

विभागका अनुसार आज दिउँसो कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग, वाग्मती र गण्डकी प्रदेशका हिमाली क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

देशभर आज साधारणतया बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस प्रदेशसहित कोसी, वाग्मती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

यस्तै, आज राति पनि देशभर साधारणतया बदली रहनेछ। कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेशको पहाडी भूभागमा पनि एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।

राति कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा हुन सक्ने विभागको अनुमान छ।

त्यसैगरी, मधेस प्रदेश तथा कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

भारी वर्षा तथा मेघगर्जनसहित वर्षाको सम्भावना रहेका क्षेत्रमा दैनिक जनजीवन, यातायात तथा पहाडी क्षेत्रमा पहिरोको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम विभागले आग्रह गरेको छ।