काठमाडौं । रसुवा र नुवाकोटमा थप ठूलो बाढी आउन लागेको भन्दै सामाजिक सञ्जाल तथा विभिन्न माध्यममा फैलिएको सूचनामा कुनै आधिकारिकता नभएको बाढी पूर्वानुमान महाशाखाले स्पष्ट पारेको छ।
महाशाखाका अनुसार हालसम्म प्राप्त सूचना तथा प्रारम्भिक विश्लेषणका आधारमा थप ठूलो तथा विनाशकारी बाढी आउने कुनै विश्वसनीय आधार देखिएको छैन। नागरिकलाई संयमित रहन तथा अपुष्ट सूचना र हल्लाको पछि नलाग्न महाशाखाले आग्रह गरेको छ।
उक्त क्षेत्रमा वर्षा भइरहेकाले नदीको बहाव केही बढ्न सक्ने भए पनि हालसम्म थप विनाशकारी बाढी आउने अवस्था नदेखिएको महाशाखाले जनाएको छ।
नेपालतर्फ ठूलो बाढी प्रवेश गर्ने अवस्था देखिएमा सीमा क्षेत्रमा तैनाथ सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गरी तत्काल जानकारी गराइने महाशाखाले जनाएको छ।
त्यस्तो अवस्था उत्पन्न भएमा एसएमएसलगायत उपलब्ध सञ्चारमाध्यममार्फत यथाशीघ्र आधिकारिक पूर्वसूचना प्रवाह गरिने महाशाखाको भनाइ छ।
महाशाखाले बाढीसम्बन्धी सूचना प्राप्त गर्दा आधिकारिक स्रोतलाई मात्र आधार मान्न र सम्भावित जोखिमप्रति आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
महाशाखाले सामाजिक सञ्जालमा फैलिएका अपुष्ट सूचनाका कारण अनावश्यक त्रास सिर्जना नगर्नसमेत अनुरोध गरेको छ।