काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ। आइतबार सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँले बढेर ३ लाख १ हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअघि शुक्रबार सुनको मूल्य तोलामा २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। दुई कारोबार दिनमै सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको हो।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आइतबार चाँदीको मूल्य तोलामा ६५ रुपैयाँले बढेर ४ हजार ६ सय ४५ रुपैयाँ पुगेको छ।
शुक्रबार चाँदीको मूल्य तोलामा ४ हजार ५ सय ८० रुपैयाँमा कारोबार भएको थियो।
सुनको मूल्य निरन्तर बढ्दै जाँदा नेपाली बजारमा यसको मूल्य फेरि ३ लाख रुपैयाँभन्दा माथि पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा हुने उतारचढाव, अमेरिकी डलरको विनिमय दर तथा अन्तर्राष्ट्रिय आर्थिक र भूराजनीतिक परिस्थितिले नेपाली बजारमा सुनको मूल्य प्रभावित गर्ने गर्छ।