काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। निर्वाचित जनप्रतिनिधि निरन्तर नागरिकको निगरानी, सुझाव र प्रत्यक्ष सम्पर्कमा रहनुपर्ने लोकतन्त्रको मूल भावनालाई व्यवहारमै लागू गर्ने उद्देश्यले कार्यक्रम सुरु गर्न लागिएको रास्वपाले जनाएको छ।
पार्टीका अनुसार कार्यक्रममार्फत जनउत्तरदायी, पारदर्शी र परिणाममुखी राजनीतिक संस्कार विकास गर्ने लक्ष्य राखिएको छ। विशेषगरी सरकारमा सहभागी रास्वपाका मन्त्रीहरूलाई नागरिकसँग प्रत्यक्ष जोड्ने र उनीहरूबाट प्राप्त गुनासा तथा सुझावलाई सरकारको नीति निर्माण र कार्यान्वयनसँग जोड्ने व्यवस्था कार्यक्रमले गर्नेछ।
कार्यक्रमअन्तर्गत सरकारमा रहेका रास्वपाका मन्त्रीहरू महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा केन्द्रीय पार्टी कार्यालयमा उपस्थित हुनेछन्। त्यस अवसरमा मन्त्रीहरूले पार्टीका नेता तथा कार्यकर्तासँग मात्र नभई सर्वसाधारण नागरिकसँग समेत प्रत्यक्ष संवाद गर्ने व्यवस्था मिलाइनेछ।
रास्वपाले कार्यक्रमलाई दुई चरणमा सञ्चालन गर्ने जनाएको छ। पहिलो चरणमा ‘नागरिक संवाद’ हुनेछ। साँझ ५ बजेदेखि ६ बजेसम्मको एक घण्टा समय आम नागरिकका लागि खुला राखिनेछ। उक्त समयमा सम्बन्धित मन्त्रीले नागरिकसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूका समस्या, गुनासा, सुझाव र अपेक्षा सुन्नेछन्।
पार्टीले नागरिक संवादलाई नेतृत्व र जनताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने माध्यमका रूपमा लिएको छ। स्थानीय तहदेखि राज्यका विभिन्न निकायसम्म नागरिकले भोगिरहेका समस्या तथा सार्वजनिक सेवा प्रवाहसँग सम्बन्धित गुनासा मन्त्रीसमक्ष प्रत्यक्ष पुर्याउने व्यवस्था यसबाट हुने रास्वपाको विश्वास छ।
त्यसपछि साँझ ६ बजेदेखि ‘नेतृत्व संवाद’ सुरु हुनेछ। यस चरणमा सम्बन्धित मन्त्री, पार्टीका केन्द्रीय समिति सदस्य तथा प्रतिनिधिसभा सदस्यहरूबीच संयुक्त बैठक हुनेछ। नागरिक संवादका क्रममा प्राप्त सुझाव, गुनासा र समस्यामाथि दोस्रो चरणमा छलफल गरिनेछ।
त्यससँगै देशका समसामयिक, बहुआयामिक तथा नीतिगत विषयमा पनि बैठकमा गहन छलफल गरिने रास्वपाले जनाएको छ।
रास्वपाका अनुसार कार्यक्रममार्फत नागरिक, सरकार, संसद् र पार्टी संगठनबीचको समन्वयलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ। नागरिकबाट उठेका विषयलाई पार्टीको नीति तथा सरकारको कामसँग जोडेर समाधानका लागि साझा रणनीति निर्माण गरिनेछ।
सरकारमा रहेका मन्त्रीहरूलाई आम नागरिकप्रति प्रत्यक्ष रूपमा जवाफदेही बनाउनु पनि कार्यक्रमको प्रमुख उद्देश्य रहेको पार्टीले जनाएको छ। नागरिकका वास्तविक समस्या र आवश्यकतालाई नजिकबाट बुझेर राष्ट्रिय नीति तथा कानुन निर्माणमा पार्टीको धारणा तय गर्न कार्यक्रम उपयोगी हुने रास्वपाको विश्वास छ।
सरकारमा रहेका प्रतिनिधि, संसदीय दल, केन्द्रीय समिति तथा पार्टीको सांगठनिक तहबीच सूचना र कार्ययोजनाको प्रभावकारी आदानप्रदान गर्ने व्यवस्था पनि कार्यक्रममार्फत गरिनेछ।
रास्वपाले नागरिकका आवाज पार्टी र सरकारसम्म पुर्याउने मात्र नभई प्राप्त सुझावका आधारमा नीति निर्माण तथा कार्यान्वयनमा सुधार ल्याउने माध्यमका रूपमा ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रमलाई अघि बढाउन लागेको जनाएको छ।