काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग भेटवार्ता गरेका छन्। लामिछाने आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए।
रविनिकट स्रोतका अनुसार प्रधानमन्त्री शाह र लामिछानेबीच करिब ४५ मिनेट छलफल भएको थियो।
भेटका क्रममा समसामयिक राजनीतिक विषय, सरकारका आगामी कदम तथा लामिछानेको प्रस्तावित चीन भ्रमणलगायत विषयमा छलफल भएको बताइएको छ।
“उहाँहरूबीच समसामयिक विषयवस्तु, सरकारका आगामी कदमहरू र अध्यक्षज्यूको चीन भ्रमणलगायतका विषयमा छलफल भयो,” रविनिकट स्रोतले भन्यो।
प्रधानमन्त्री शाहसँग लामिछानेको भेटलाई पछिल्लो राजनीतिक घटनाक्रमका बीच अर्थपूर्ण रूपमा हेरिएको छ। यद्यपि, भेटमा भएका अन्य विषय र निष्कर्षबारे भने औपचारिक रूपमा विस्तृत जानकारी सार्वजनिक गरिएको छैन।