मौसम पूर्वानुमान

देशका केही स्थानमा भारी वर्षाको सम्भावना, बाढीको जोखिम

२ हप्ता अगाडि
देशका केही स्थानमा भारी वर्षाको सम्भावना, बाढीको जोखिम

काठमाडौं । देशका केही स्थानमा आज भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो भारी वर्षा हुने र राति वर्षा अझ बढेर केही स्थानमा धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

विभागका अनुसार आज राति कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ। यस्तै, कर्णाली प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा भारी तथा एक–दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।

काठमाडौंमा बिहानैदेखि वर्षा

काठमाडौं उपत्यकामा बिहानैदेखि वर्षा भइरहेको छ। विभागका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।

हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। पहाडी भूभागका धेरै स्थानमा समेत मध्यमसम्मको वर्षा हुन सक्ने पूर्वानुमान छ।

कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस, वाग्मती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

त्यसैगरी, कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ।

राति वर्षा अझ बढ्ने

राति पनि देशभर सामान्यतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

पहाडी भूभागका साथै वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुन सक्ने विभागले जनाएको छ।

मधेस र कोसी प्रदेशका तराई भूभागका थोरै स्थानमा समेत मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ।

मनसुन सक्रिय

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ। यही मौसमी प्रणालीका कारण देशका विभिन्न भूभागमा वर्षा भइरहेको र केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना देखिएको विभागले जनाएको छ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो तथा डुबानको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनसमेत आग्रह गरिएको छ।