वर्षाले देशभरका सडक प्रभावित, बीपी र अरनिको राजमार्गसहित विभिन्न सडकखण्ड अवरुद्ध

१ हप्ता अगाडि
वर्षाले देशभरका सडक प्रभावित, बीपी र अरनिको राजमार्गसहित विभिन्न सडकखण्ड अवरुद्ध

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो तथा नदी कटान हुँदा प्रमुख राजमार्गसहित विभिन्न सडकखण्डमा यातायात सेवा प्रभावित भएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, इलाम, रसुवा, रुकुम पश्चिम र लमजुङलगायत जिल्लाका विभिन्न सडकखण्ड पहिरो तथा नदी कटानका कारण अवरुद्ध भएका छन्।

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ पिन्थली, नार्केस्थित बीपी राजमार्गमा सोमबार बिहान करिब ४ बजे माथिबाट लेदोसहितको पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

यसैगरी, खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी–सिन्धुली सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधनको आवागमनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने सवारीसाधन सञ्चालन गर्न दिइने व्यवस्था गरिएको प्रहरीले जनाएको छ।

मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण रातिको समयमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। उक्त सडकखण्डमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म यातायात सञ्चालन गर्न नदिइने जनाइएको छ।

इलाम नगरपालिका–९ राजदुवालीमा हिलो जमेकाले मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रहरीले उक्त स्थानमा यात्रा गर्नेहरूलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ।

सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–४ जिरोकिलोमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। भोटेकोशी गाउँपालिका–२ कोदारीको इकु क्षेत्रमा पहिरो खस्दा यातायात सेवा प्रभावित भएको छ भने सोही वडाको लिपिङमा सडक भासिएपछि अरनिको राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ।

त्यस्तै, सोमबार बिहान करिब ५ बजे चौतारा साँगाचोकगढी नगरपालिका–९ डुम्रेमा पहिरो खस्दा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली नदीले सडक कटान गरेपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी कच्ची सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ स्थित रिजेगार्ड खोला नजिक भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्ड पनि पहिरोका कारण अवरुद्ध भएको छ।

लमजुङको मध्यनेपाल नगरपालिका–१० बिमिरेभन्ज्याङ आसपास मध्यपहाडी लोकमार्गमा आइतबार राति पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रहरीले उक्त स्थानमा वैकल्पिक सडक प्रयोग गर्न यात्रुलाई आग्रह गरेको छ।

लगातारको वर्षाका कारण सडक अवरुद्ध हुने क्रम बढेपछि प्रहरीले आवश्यक सावधानी अपनाउन तथा यात्रा गर्नुअघि सम्बन्धित सडकखण्डको अवस्थाबारे जानकारी लिन सर्वसाधारणलाई आग्रह गरेको छ।