कपिलवस्तुका पूर्वमेयर किरण सिंहको शव पोस्टमार्टमका लागि बुटवल पठाइयो

१ हप्ता अगाडि
कपिलवस्तुका पूर्वमेयर किरण सिंहको शव पोस्टमार्टमका लागि बुटवल पठाइयो

काठमाडौं । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंहको शव प्रहरीले पोस्टमार्टमका लागि रुपन्देही पठाएको छ।

गत शुक्रबार दिउँसो कपिलवस्तुको गोरुसिंगे जंगलबाट सम्पर्कविहीन भएका सिंहको शव आइतबार दिउँसो जंगलमै फेला परेको थियो। उनको शव पोस्टमार्टमका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एवं प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए।

प्रहरीका अनुसार पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि मात्रै सिंहको मृत्युको वास्तविक कारण खुल्नेछ। सिंहको परिवारले मृत्युको कारणबारे अनुसन्धान गर्न प्रहरीमा जाहेरीसमेत दिएको छ।

सिंह गत शुक्रबार एक्लै मोटरसाइकलमा आफ्नो निर्माणाधीन रिसोर्टतर्फ जाने भन्दै घरबाट निस्किएका थिए। गोरुसिंगे जंगलमा पुगेपछि बाटो पत्ता लगाउन नसकेर उनी जंगलभित्रै फसेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

जंगलभित्र फसेको भन्दै सिंहले परिवारका सदस्य तथा साथीहरूलाई फोनमार्फत जानकारीसमेत गराएका थिए। त्यसपछि उनको खोजीका लागि टोली परिचालन भए पनि शुक्रबार उनलाई फेला पार्न सकिएको थिएन।

प्रहरीले सिंह सवार लु.प्र. ०१–०१३ प ७९७० नम्बरको मोटरसाइकल भने शनिबार फेला पारेको थियो। मोटरसाइकल भेटिएको स्थानबाट करिब ६ सय मिटर टाढा आइतबार उनको शव फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले शवसँगै मोटरसाइकलको चाबी, पर्सलगायतका सामान पनि फेला पारेको छ। प्रारम्भिक अनुसन्धानमा सिंहको मृत्यु शंकास्पद नदेखिएको प्रहरीको भनाइ छ। यद्यपि मृत्युको कारण यकिन गर्न पोस्टमार्टम रिपोर्ट कुर्नुपर्नेछ।

सिंह नेपाली कांग्रेसका स्थानीय नेताका रूपमा समेत परिचित थिए। उनी कपिलवस्तु नगरपालिकाका पूर्वमेयर हुन्।