लगातार तेस्रो दिन घट्यो सेयर बजार, नेप्से २६४१ अंकमा

१ हप्ता अगाडि
लगातार तेस्रो दिन घट्यो सेयर बजार, नेप्से २६४१ अंकमा

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार परिसूचक नेप्से ९.०४ अंकले घटेको छ। यो गिरावटसँगै नेप्से परिसूचक २ हजार ६ सय ४१ अंकमा झरेको छ।

अघिल्लो कारोबार दिन पनि नेप्से ४.०५ अंकले घटेको थियो। सोमबारको गिरावटसँगै बजार लगातार तेस्रो कारोबार दिन ओरालो लागेको हो।

दिनभरजसो बजार रातो देखिएको थियो। कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा केही घटेको छ। अघिल्लो कारोबार दिन ३ अर्ब ७७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा सोमबार ३ अर्ब ६६ करोड रुपैयाँको कारोबार भएको छ।

सोमबार कारोबार भएका कम्पनीमध्ये ८२ वटाको सेयर मूल्य बढेको छ भने १७९ कम्पनीको मूल्य घटेको छ। १५ कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो।

समूहगत सूचकमा कुनै पनि समूहको उतारचढाव १ प्रतिशतभन्दा बढी रहेन। बैंकिङ समूह ०.७२ प्रतिशत, विकास बैंक ०.१२ प्रतिशत, फाइनान्स ०.४१ प्रतिशत, होटल तथा पर्यटन ०.७० प्रतिशत, लगानी ०.६० प्रतिशत, जीवन बीमा ०.६२ प्रतिशत, अन्य ०.४४ प्रतिशत र व्यापार समूह ०.८६ प्रतिशतले घटेका छन्।

यता जलविद्युत् समूह ०.०६ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.०४ प्रतिशत, माइक्रोफाइनान्स ०.१९ प्रतिशत र निर्जीवन बीमा समूह ०.०४ प्रतिशतले बढेका छन्।

समूहगत कारोबारतर्फ जलविद्युत् समूह सबैभन्दा अगाडि रह्यो। उक्त समूहमा १ अर्ब ८५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। वाणिज्य बैंकतर्फ ३३ करोड, उत्पादन तथा प्रशोधन समूहमा ३७ करोड र विकास बैंकतर्फ ३० करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

कम्पनीगत रूपमा कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य सबैभन्दा धेरै ८.४७ प्रतिशतले बढेको छ। दरामखोला हाइड्रोपावरको ६ प्रतिशत, फर्स्ट माइक्रोफाइनान्सको ४.६१ प्रतिशत, अपर हेवाखोलाको ४.४७ प्रतिशत र एसवाई प्यानलको ४.२१ प्रतिशतले मूल्य बढेको छ।

यता आत्मनिर्भर लघुवित्तको सेयर मूल्य ८.८७ प्रतिशत र सप्तकोशी विकास बैंकको ७.४९ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा सोमबार सोलु हाइड्रोपावर, रिडी पावर, फर्स्ट माइक्रोफाइनान्स, सप्तकोशी विकास बैंक र आँखुखोला जलविद्युत् अगाडि रहेका छन्।