काठमाडौं । कोशी र मधेश प्रदेशबाहेक देशका अधिकांश प्रदेशमा गएराति वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा भएको हो।
महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा सुदूरपश्चिम प्रदेशको खप्तड क्षेत्रमा सबैभन्दा धेरै ४४.२ मिलिमिटर वर्षा मापन गरिएको छ।
आज पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कर्णाली प्रदेशका पहाडी भूभागका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो तथा नदी–खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।
यस्तै, भोलि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
मनसुन सक्रिय रहँदा आगामी दिनमा पनि वर्षाको गतिविधि बढ्न सक्ने भएकाले यात्रा गर्दा तथा नदी–खोला आसपासका क्षेत्रमा बसोबास गर्नेहरूले मौसमको पछिल्लो सूचना हेर्न महाशाखाले आग्रह गरेको छ।