काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घारको पोखरेबगरमा पहिरोले विद्युतगृह पुरिँदा एकजना सुरक्षा गार्ड बेपत्ता भएका छन्। पहिरोमा परी घाइते भएका अर्का एक कामदारलाई भने उद्धार गरिएको छ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको विद्युतगृह पहिरोले पुरिएको हो। गएराति करिब ३ बजे विद्युतगृहको पछाडि रहेको ल्यासीको भीरबाट ढुंगासहितको सुक्खा पहिरो खसेर विद्युतगृहमा क्षति पुगेको थियो।
पहिरोले विद्युतगृह पुरिएपछि आयोजनाको सुरक्षार्थ खटिएका अन्नपूर्ण गाउँपालिका-६ का ५५ वर्षीय दीपक बरुवाल सम्पर्कविहीन भएका छन्।
त्यस्तै, गौरीगंगा नगरपालिका-५ का ३१ वर्षीय सुरेन्द्र विकलाई भने घाइते अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ। उनलाई घटनास्थलमा प्राथमिक उपचारपछि थप उपचारका लागि प्रदेश अस्पताल बेनी पठाइएको छ।
घटनाको जानकारी पाएपछि अन्नपूर्ण गाउँपालिका–२ भुरुङतातोपानीस्थित इलाका प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। अहिले बेपत्ता बरुवालको खोजीका लागि प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासी परिचालन भएका छन्।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सिनाका अनुसार पहिरोले विद्युतगृहको केही भाग पुरिनुका साथै आयोजनाका विभिन्न उपकरणमा समेत क्षति पुगेको छ।
माथिल्लो भागको पहाडबाट ढुंगासहितको पहिरो खसेर विद्युतगृह पुरिएको हो। पहिरोका कारण घारखोला जलविद्युत् आयोजनाको विद्युत् उत्पादनसमेत बन्द भएको छ।