काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय एकदिवसीय क्रिकेट टोलीको कप्तान परिवर्तन गरेको छ। क्यानले रोहितकुमार पौडेललाई हटाउँदै सन्दीप लामिछानेलाई नयाँ कप्तानको जिम्मेवारी दिएको हो।
रोहितले २०७९ सालको कात्तिकमा नेपाली राष्ट्रिय टोलीको कप्तानी सम्हालेका थिए। त्यतिबेला पनि उनले सन्दीपकै स्थानमा कप्तानीको जिम्मेवारी पाएका थिए।
बलात्कार मुद्दामा सन्दीप निलम्बनमा परेपछि रोहितलाई राष्ट्रिय टोलीको कप्तान बनाइएको थियो। उक्त मुद्दामा अदालतबाट सफाइ पाएपछि सन्दीपले चार वर्षपछि पुनः राष्ट्रिय टोलीको कप्तानीमा फर्किने अवसर पाएका हुन्।
सन्दीपले अब मलेसियामा हुने एसिसी प्रिमियर कपमा नेपाली एकदिवसीय टोलीको नेतृत्व गर्नेछन्। एकदिवसीय प्रारूपमा हुने प्रिमियर कप एसिया कप छनोटका रूपमा समेत रहेको छ।
क्यानले प्रिमियर कपका लागि नेपाली राष्ट्रिय टोलीसमेत घोषणा गरेको छ। घोषित टोलीमा कुशल भुर्तेल र सोमपाल कामीले स्थान बनाउन सकेका छैनन्।
यस्तै देव खनाल र बसिर अहमदले एकदिवसीय टोलीमा पुनरागमन गरेका छन्। आरिफ शेख र भीम सार्की पनि टोलीमा परेका छैनन् भने शेर मल्लले पहिलोपटक एकदिवसीय टोलीमा स्थान बनाएका छन्।
नेपालको टी–२० राष्ट्रिय टोलीको कप्तानी भने दीपेन्द्रसिंह ऐरीले गरिरहेका छन्।