नेप्सेमा झिनो सुधार, २६४१ विन्दुमै थामियो बजार

१ हप्ता अगाडि
नेप्सेमा झिनो सुधार, २६४१ विन्दुमै थामियो बजार

काठमाडौं । लगातार तीन कारोबार दिन घटेको सेयर बजारमा मंगलबार झिनो सुधार देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार ०.७९ अंकले बढेर २६४१.८५ विन्दुमा कायम भएको छ।

अघिल्लो दिन ३ अर्ब ६६ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा मंगलबार कारोबार रकम बढेर ४ अर्ब ११ करोड रुपैयाँ पुगेको छ।

आज कारोबारमा आएका कम्पनीमध्ये १३३ कम्पनीको सेयर मूल्य बढेको छ भने १२२ कम्पनीको मूल्य घटेको छ। २० कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो।

समूहगत परिसूचकमा भने ठूलो उतारचढाव देखिएन। सबै समूहगत परिसूचकको वृद्धि वा गिरावट १ प्रतिशतभन्दा कम रहेको छ।

बैंकिङ समूह ०.३२ प्रतिशत, होटल तथा पर्यटन ०.५० प्रतिशत, जलविद्युत् ०.०५ प्रतिशत, लगानी ०.०७ प्रतिशत, जीवन बीमा ०.०९ प्रतिशत तथा अन्य समूह ०.०३ प्रतिशतले बढेका छन्।

यता विकास बैंक ०.१० प्रतिशत, वित्त ०.०७ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.०८ प्रतिशत, लघुवित्त ०.३६ प्रतिशत, निर्जीवन बीमा ०.४० प्रतिशत तथा व्यापार समूह ०.७७ प्रतिशतले घटेका छन्।

कारोबार रकमका आधारमा जलविद्युत् समूह अगाडि रह्यो। उक्त समूहका कम्पनीमा २ अर्ब ३८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। वाणिज्य बैंकतर्फ ३४ करोड, उत्पादन तथा प्रशोधन समूहमा ३५ करोड तथा लघुवित्त समूहमा २९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

आज अपर लोहोरेखोलाको सेयर मूल्य १५ प्रतिशतले बढेको छ। हिमस्टार ऊर्जा ३.७४ प्रतिशत र अपर हेवाखोला ३.६० प्रतिशतले बढेका छन्।

यता महिला लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै १४.९१ प्रतिशतले घटेको छ। सप्तकोशी विकास बैंक ३.९५ प्रतिशत र फर्स्ट माइक्रोफाइनान्स ३.५५ प्रतिशतले घटेका छन्।

कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर, रिडी पावर, ङादी ग्रुप, खानीखोला हाइड्रोपावर र फर्स्ट माइक्रोफाइनान्स अगाडि रहे।