काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले पार्टीको आगामी महाधिवेशनसहित अदालतमा विचाराधीन विषयसँग जोडिएका सम्पूर्ण सांगठनिक तथा नीतिगत निर्णय तत्कालका लागि स्थगित गर्न पार्टी सभापति गगनकुमार थापासँग आग्रह गरेको छ।
कांग्रेस राष्ट्रिय भेला आयोजक समिति संयोजक डा. शशांक कोइरालाले केन्द्रीय समितिलाई पत्र पठाउँदै सर्वोच्च अदालतबाट पुनरावलोकनका लागि निस्सा प्रदान भइसकेकाले अदालतबाट अन्तिम फैसला नआएसम्म पार्टीका महत्वपूर्ण निर्णयहरू यथास्थितिमा राख्न आग्रह गरेका हुन्।
कोइरालाले पार्टीको वैधानिकतासँग सम्बन्धित मुद्दामा सर्वोच्च अदालतले पुनरावलोकनको अनुमति दिएको उल्लेख गर्दै अदालतको अन्तिम निर्णय नआएसम्म साबिकको पार्टी संरचना र नेतृत्वको वैधानिकतामाथि कानुनी प्रश्न कायमै रहने जिकिर गरेका छन्।
पत्रमा विशेष महाधिवेशनसँग सम्बन्धित सांगठनिक, प्राविधिक तथा नीतिगत सबै प्रकारका तयारी तत्काल रोक्न माग गरिएको छ। अदालतको अन्तिम फैसला नआएसम्म पार्टीको तर्फबाट दीर्घकालीन प्रभाव पार्ने कुनै पनि राजनीतिक, सांगठनिक, नीतिगत वा आर्थिक निर्णय नगर्न पनि संस्थापनइतर पक्षले आग्रह गरेको छ।
अदालतमा विचाराधीन विषयको अन्तिम परिणामलाई असर पर्ने गरी पार्टी गतिविधि अगाडि बढाउँदा थप कानुनी तथा राजनीतिक जटिलता उत्पन्न हुनसक्ने इतर पक्षको भनाइ छ।
अदालतको गरिमा र कानुनी प्रक्रियालाई सम्मान गर्दै अन्तिम फैसला नआएसम्म संयम अपनाउन आग्रह गर्दै कोइरालाले अदालतको आदेशविपरीत गतिविधि भए त्यसबाट उत्पन्न हुने कानुनी परिणामको जिम्मेवारी सम्बन्धित पक्षले नै लिनुपर्ने चेतावनीसमेत दिएका छन्।