काठमाडौं । पछिल्लो समय नेपालमा मनसुनी गतिविधि केही कमजोर बनेको छ। गएराति बागमती र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भए पनि अधिकांश क्षेत्रमा वर्षा रोकिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार पछिल्लो १२ घण्टामा देशका केही स्थानमा मात्रै हल्का वर्षा भएको छ। यस अवधिमा सबैभन्दा धेरै वर्षा सिन्धुपाल्चोकमा मापन भएको छ। त्यहाँ २२.८ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ।
आज भने देशका केही भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ। मधेश, कोशी र बागमती प्रदेशका तराई भूभागका थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
मनसुनी गतिविधि कमजोर रहे पनि स्थानीय वायुमण्डलीय प्रभावका कारण केही स्थानमा अचानक मेघगर्जनसहित वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।
यसैबीच, पछिल्लो समय देशका अधिकांश स्थानमा वर्षाको मात्रा घट्दै गएको देखिएको छ। यद्यपि मनसुनको प्रभाव पूर्ण रूपमा समाप्त नभएकाले आगामी दिनमा पनि स्थानअनुसार मौसममा परिवर्तन आउन सक्नेछ।