अदालतअगाडि महिलाले गरिन् आत्मदाहको प्रयास, प्रहरीले तत्काल उद्धार गर्‍यो

१ हप्ता अगाडि
अदालतअगाडि महिलाले गरिन् आत्मदाहको प्रयास, प्रहरीले तत्काल उद्धार गर्‍यो

जनकपुरधाम । धनुषा जिल्ला अदालतको मुख्य गेट अगाडि एक महिलाले आत्मदाहको प्रयास गरेकी छन् ।

बुधबार बिहान जनकपुरधाम उपमहानगरपालिका-३ की करिब ५५ वर्षीया फूलकुमारी रजकले आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी हुन् ।

मिटरब्याजी हरेराम साह र गोपाल साहविरुद्धको मुद्दामा जिल्ला अदालतमा थुनछेक बहस चलिरहेका बेला पीडितहरू अदालत परिसरबाहिर प्रदर्शनमा उत्रिएका थिए ।

सोही क्रममा रजकले अदालतको मुख्य गेट अगाडि पुगेर मिटरब्याजी साहलाई कारबाही गर्नुपर्ने माग राख्दै आफ्नो शरीरमा पेट्रोल छर्किएकी थिइन् ।

उनले पेट्रोल छर्किसकेको अवस्थामा प्रहरी निरीक्षक अरविन्द साहको नेतृत्वमा खटिएको टोलीले तत्काल उद्धार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार समयमै उद्धार गरिएकाले ठूलो दुर्घटना हुनबाट जोगिएको हो ।

घटनापछि धनुषा जिल्ला अदालत परिसरको सुरक्षा व्यवस्था थप कडा पारिएको छ । अदालतमा मिटरब्याजसम्बन्धी मुद्दामा बहस भइरहेका बेला पीडित पक्षले प्रदर्शनसमेत गरेका थिए ।