काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार परिसूचक नेप्से झिनो अंकले बढेको छ ।
नेप्से ०.५५ अंकले बढेर २६४२ अंकमा कायम भएको हो । अघिल्लो दिन पनि नेप्से ०.७९ अंकले बढेको थियो ।
समग्र बजार परिसूचक बढे पनि अधिकांश कम्पनीको सेयर मूल्य भने घटेको छ । बुधबार १०२ कम्पनीको सेयर मूल्य बढ्दा १६५ कम्पनीको घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।
कारोबार रकममा भने गिरावट आएको छ । मंगलबार ४ अर्ब ११ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार घटेर ३ अर्ब ५३ करोड रुपैयाँमा सीमित भएको छ ।
बुधबार लगानी समूहको परिसूचक सर्वाधिक २.२१ प्रतिशतले बढेको छ । बैंकिङ ०.०५, फाइनान्स ०.२४ तथा होटल तथा पर्यटन समूह ०.८५ प्रतिशतले बढेका छन् ।
यस्तै विकास बैंक ०.२२, जलविद्युत् ०.४०, जीवन बीमा ०.१५, उत्पादन तथा प्रशोधन ०.७०, माइक्रोफाइनान्स ०.०५, निर्जीवन बीमा ०.०५, अन्य ०.१० तथा व्यापार समूह ०.२१ प्रतिशतले घटेका छन् ।
समूहगत कारोबारतर्फ हाइड्रोपावर समूहमा सबैभन्दा धेरै १ अर्ब ५५ करोड रुपैयाँको कारोबार भएको छ । वाणिज्य बैंक समूहमा ३६ करोड, उत्पादन तथा प्रशोधनमा २८ करोड तथा लगानी समूहमा ४२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
बुधबारदेखि कारोबारमा आएको माउन्ट एभरेस्ट पावरको सेयर मूल्य १५ प्रतिशतले बढेर प्रतिकित्ता ३४५ रुपैयाँ पुगेको छ । त्यस्तै इमर्जिङ नेपालको ५.४८, एचआईडीसीएलको ४.९५ तथा एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर मूल्य ३.८५ प्रतिशतले बढेको छ ।
अपर लोहोरेखोलाको सेयर मूल्य भने १५ प्रतिशतले घटेको छ । महिला लघुवित्तको ५.१८ तथा कर्पोरेट डेभलपमेन्ट बैंकको ४.७४ प्रतिशतले मूल्य घटेको छ ।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, सेन्ट्रल फाइनान्स, सोलु हाइड्रोपावर, खानीखोला हाइड्रोपावर र ङादी ग्रुप अगाडि रहेका छन् ।