काठमाडौं । रोल्पाको थबाङमा पहिरोले घर तथा गोठ पुरिँदा तीन जनाको मृत्यु भएको छ भने नौ जना बेपत्ता भएका छन्।
थबाङ गाउँपालिका-५ कोटलबारामा बुधबार राति अविरल वर्षासँगै आएको पहिरोले स्थानीय कमलबहादुर पुन मगरको घरसहित ६ वटा घर तथा गोठ पुरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
प्रहरीका अनुसार राति करिब ८ः४० बजे माथिल्लो भागबाट पहिरो खसेर घर तथा गोठ पुरिएका हुन् । पहिरोमा मानिससँगै पशुचौपाया पनि पुरिएका छन् ।
पहिरोमा परी थबाङ-५ की १८ वर्षीया शान्ती पुन मगर, ६० वर्षीय कमलबहादुर पुन मगर र ७१ वर्षीया मनरखी पुन मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय संजय घर्ती मगर घाइते भएका छन् । उनीहरूलाई प्रहरी तथा स्थानीयवासीको सहयोगमा उद्धार गरी उपचारका लागि पठाउने प्रयास भइरहेको र दुवैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
पहिरोमा ४० वर्षीया जुनकुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ६ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय डल बहादुर पुन मगर, ८० वर्षीय अजम्बर पुन मगर, ७८ वर्षीय बल बहादुर पुन मगर, ७२ वर्षीय लिल बहादुर पुन मगर, ७१ वर्षीया मनि पुन मगर र ६७ वर्षीया हस्तकला रोका मगर बेपत्ता भएका छन् ।
बेपत्ताको खोजी तथा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधि र स्थानीयवासीको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।