चीनतर्फ पहिरो खस्दा भोटेकोशीको बहाव प्रभावित, तल्लो तटीय क्षेत्रमा सतर्कता

१ हप्ता अगाडि
चीनतर्फ पहिरो खस्दा भोटेकोशीको बहाव प्रभावित, तल्लो तटीय क्षेत्रमा सतर्कता

सिन्धुपाल्चोक । चीनतर्फको न्यालमस्थित झिम्मु पोस्ट नजिकै ठूलो पहिरो खस्दा भोटेकोशी नदीको बहाव प्रभावित भएको छ ।

भोटेकोशी गाउँपालिका अध्यक्ष पासाङ नोर्बु शेर्पाका अनुसार बिहीबार बिहान भोटेकोशी गाउँपालिका-२ लिपिङको पारिपट्टि चीनतर्फको क्षेत्रमा ढुङ्गामाटोसहितको ठूलो पहिरो खसेको हो ।

पहिरोका कारण चीनबाट नेपालतर्फ बग्ने भोटेकोशी नदीको बहाव करिब आधाजति थुनिएको जनाइएको छ । नदीको बहाव प्रभावित भएपछि जुनसुकै बेला विपद्जन्य घटना निम्तिन सक्ने जोखिम रहेको भन्दै तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

विशेषगरी भोटेकोशी, बाह्रबीसे र बलेफी गाउँपालिकाअन्तर्गत नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ ।

सशस्त्र प्रहरी बल लामोसाँघुले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नजान स्थानीयवासीलाई अनुरोध गरेको छ । नदीको बहाव र पहिरोको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको जनाइएको छ ।