मौसम पूर्वानुमान

आज देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना

१ हप्ता अगाडि
आज देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका केही प्रदेशमा आज भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसोको समयमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।

कोशी र वाग्मती प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थान तथा मधेस, कोशी, वाग्मती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ।

विभागका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली, पहाडी तथा तराई भूभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। वाग्मती प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्नेछ।

त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।

रातिको समयमा पनि देशभर साधारणतया बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ भने तराईका थोरै स्थानमा मध्यम वर्षा हुन सक्नेछ। वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको पूर्वानुमान छ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरमा रही नेपालको नजिक रहेको विभागले जनाएको छ।

भारी तथा धेरै भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेको छ।