धवलशम्शेर र दुर्गा प्रसाईंबीच दुई महिनामै टुट्यो सहमति, अब छुट्टाछुट्टै पार्टी

१ हप्ता अगाडि
धवलशम्शेर र दुर्गा प्रसाईंबीच दुई महिनामै टुट्यो सहमति, अब छुट्टाछुट्टै पार्टी

काठमाडौं । नयाँ पार्टी निर्माणका लागि एक ठाउँमा उभिएका डा. धवलशम्शेर राणा र दुर्गा प्रसाईंबीच दुई महिनामै विभाजन आएको छ ।

राणा पक्षले शुक्रबार निर्वाचन आयोगमा पार्टी दर्ताको तयारी गरे पनि प्रसाईं समूह भने अलग्गिएको छ ।

राणा अध्यक्ष र प्रसाईं सर्वोच्च नेता रहने गरी "जय नेपाल पार्टी" गठन गर्ने सहमति भए पनि पार्टीभित्र शक्ति बाँडफाँडको विषयमा विवाद बढेपछि दुई पक्ष अलग भएका हुन् ।

प्रसाईंले पार्टीको पहिलो वरीयतामा आफू रहनुपर्ने र कार्यकारी अधिकार बाँडफाँड हुनुपर्ने माग राखेका थिए । तर राणा पक्ष त्यसमा सहमत नभएपछि विवाद चर्किएको थियो।

विवाद बढिरहेका बेला प्रसाईंले एक युट्युब च्यानललाई दिएको अन्तर्वार्तामा राणामाथि आलोचना गरेपछि सहमतिको सम्भावना थप कमजोर बनेको हो ।

प्रसाईं समूहका नेता माधव कल्पितले आफूहरू अझै एकताको पक्षमा रहे पनि राणा पक्षले शुक्रबार नै पार्टी दर्ता गर्ने अडान लिएपछि विभाजनको अवस्था आएको बताए ।

‘हामी मान्छे बचाउन लागेका छौं, उनीहरूलाई नेता बन्न हतार भएको छ,’ उनले भने, ‘अब दुर्गा प्रसाईंको नेतृत्वमा अर्कै पार्टी बन्छ ।’

प्रसाईंले पनि सामाजिक सञ्जालमार्फत केही समयपछि नयाँ पार्टी गठन हुने संकेत गरेका छन् । उनले नयाँ पार्टी सबै नेपाली नागरिक, जातजाति र धर्मको साझा पार्टी हुने दाबी गरेका छन् ।

यसअघि ‘जय नेपाल पार्टी’मा १०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने सहमति भएको थियो । जसमा राणा र प्रसाईं पक्षबाट ४०–४० जना तथा दुवै समूहमा नरहेका २० जनालाई समेट्ने तयारी थियो ।

तर सहमति भंग भएपछि राणा पक्षका नेताहरूलाई मात्रै समेटेर केन्द्रीय कमिटी बनाइएको छ ।

राणाकी प्रेस संयोजक राधिका जोशीले भने प्रसाईं पक्षसँग अझै संवाद भइरहेको दाबी गरेकी छन् । उनका अनुसार प्रसाईं पक्षका नेताहरू शुक्रबार पार्टी दर्तामा सहभागी नहुने भए पनि पछि जोडिन सक्नेछन् ।