काठमाडौं । गत साता पाँच दिनमा २४ हजार २ सय रुपैयाँले बढेको सुनको भाउ पछिल्ला दिनमा लगातार घट्न थालेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ तोलामा ४ हजार ६ सय रुपैयाँ घटेर ३ लाख १ हजार ६ सय रुपैयाँमा झरेको छ ।
बिहीबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ घटेर ३ लाख ६ हजार २ सय रुपैयाँमा कायम भएको थियो । त्यसअघि बुधबार पनि सुनको भाउ तोलामा १ हजार २ सय रुपैयाँ घटेको थियो ।
त्यसैगरी शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । चाँदीको भाउ तोलामा ९० रुपैयाँ घटेर ४ हजार ६ सय ६० रुपैयाँमा झरेको महासंघले जनाएको छ । बिहीबार चाँदीको मूल्य ४ हजार ७ सय ५० रुपैयाँ थियो ।