भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामी बढे, चिकित्सको परामर्शविना एन्टिवायोटीक नखान सुझाव

१ हप्ता अगाडि
भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामी बढे, चिकित्सको परामर्शविना एन्टिवायोटीक नखान सुझाव

काठमाडौं । केही दिनयता भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामी बढ्न थालेका छन् । मनसुन सुरु भएसँगै ज्वरो, टाउको तथा हातखुट्टा दुख्ने, रुघाखोकी लाग्नेजस्ता समस्या लिएर अस्पताल पुग्ने बिरामीको संख्या बढेको हो ।

अस्पतालहरूमा उच्च ज्वरो, रुघाखोकी, झाडापखाला र डेंगुका बिरामीको चापसमेत बढेको चिकित्सकहरूले बताएका छन् । केही दिनअघिसम्म इमर्जेन्सीमा यस्ता समस्या लिएर दैनिक ४-५ जना मात्रै आउने गरेकोमा अहिले यो संख्या बढेर १५ देखि २० जनासम्म पुगेको छ ।

चिकित्सकका अनुसार सामान्य ज्वरो आउँदैमा आत्तिएर अस्पताल पुगिहाल्नुपर्ने अवस्था हुँदैन । तर ज्वरोसँगै अत्यधिक टाउको दुख्ने, रिङ्गटा लाग्ने वा बेहोसजस्तो हुने, निरन्तर बान्ता हुने तथा कडा पेट दुख्ने जस्ता लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा जानुपर्छ ।

सामान्य अवस्थामा घरमै आराम गरेर पर्याप्त झोलिलो तथा पोषिलो खानेकुरा खान सकिन्छ । तातो पानी पिउने, खाना खानुअघि र शौचालय प्रयोग गरेपछि साबुनपानीले हात धुनेजस्ता सरसफाइका उपाय अपनाउन चिकित्सकले सुझाव दिएका छन् ।

मौसमी रुघाखोकीमा सामान्यतया सुक्खा खोकी लाग्ने, नाकबाट पानी बग्ने र टाउको दुख्ने गर्छ । केही बिरामीलाई सास फेर्नसमेत गाह्रो हुन सक्छ ।

त्यसैगरी डेंगुमा अचानक १०२ देखि १०३ डिग्री फरेनहाइटसम्म उच्च ज्वरो आउने, अत्यधिक जिउ तथा हड्डी दुख्ने, आँखाको गेडी र पछाडिको भाग दुख्नेजस्ता लक्षण देखिन सक्छन् । यसै कारण डेंगुलाई ‘ब्रेक बोन फिभर’ अर्थात् हड्डी भाँचिएजस्तो दुख्ने ज्वरोसमेत भनिन्छ ।

डेंगु गम्भीर बन्दै गएमा दाँत माझ्दा गिजाबाट रगत आउने, दिसा–पिसाबमा रगत देखिने तथा शरीरमा डाबर आउनेजस्ता लक्षण देखिन सक्छन् ।

झाडापखालामा पेट दुख्ने र पटक–पटक पातलो दिसा हुनेसँगै शरीरमा पानीको मात्रा कम हुने जोखिम हुन्छ । आँखाभित्र धसिने, जिब्रो तथा छाला सुक्खा हुने डिहाइड्रेसनका प्रमुख लक्षण हुन् ।

बालबालिका, गर्भवती महिला, ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरू मौसमी रोगबाट बढी प्रभावित हुने चिकित्सकहरूको भनाइ छ । मनसुन तथा मौसम परिवर्तनका बेला पानी र खानेकुराको सरसफाइमा पर्याप्त ध्यान नदिँदा सङ्क्रमण फैलिने जोखिम बढ्छ ।

चिकित्सकहरूले ज्वरो आउनेबित्तिकै आफैं औषधि किन्न फार्मेसी जाने प्रवृत्ति रोक्न आग्रह गरेका छन् । विशेषगरी भाइरल ज्वरोमा एन्टिबायोटिकको भूमिका नहुने भएकाले चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक प्रयोग गर्न नहुने उनीहरूको सुझाव छ ।

अनावश्यक रूपमा एन्टिबायोटिक सेवन गर्ने वा औषधिको मात्रा तथा अवधि पूरा नगर्दा एन्टिमाइक्रोबियल रेसिस्टेन्सको समस्या निम्तिन सक्छ । यस्तो अवस्थामा पछि ब्याक्टेरियाको सङ्क्रमण हुँदा प्रयोग गरिने एन्टिबायोटिकले प्रभावकारी रूपमा काम नगर्न सक्छ ।

त्यसैले चिकित्सकको परामर्शबिना एन्टिबायोटिक सेवन नगर्न सुझाव दिइएको छ ।

मनसुनमा पानीजन्य तथा लामखुट्टेबाट सर्ने रोगबाट बच्न उमालेको वा शुद्धीकरण गरिएको पानी मात्र पिउन, पानी राख्ने भाँडा छोपेर राख्न तथा घरवरपर पानी जम्न नदिन चिकित्सकहरूले आग्रह गरेका छन् ।

डेंगु सार्ने लामखुट्टेले जमेको सफा पानीमा समेत डिम्ब पार्ने भएकाले घरवरपरका खाल्डाखुल्डीमा पानी जम्न नदिन विशेष ध्यान दिनुपर्छ । लामखुट्टेको टोकाइबाट बच्न शरीर पूरै ढाक्ने कपडा लगाउने तथा धूप वा लामखुट्टे भगाउने मलम प्रयोग गर्न सकिन्छ ।