मौसम पूर्वानुमान

चार प्रदेशमा भारी वर्षाको जोखिम, बाढी-पहिरोबाट सतर्क रहन आग्रह

१ हप्ता अगाडि
चार प्रदेशमा भारी वर्षाको जोखिम, बाढी-पहिरोबाट सतर्क रहन आग्रह

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा मुसलधारे वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

आज दिउँसो बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै, आज राति पनि बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मुसलधारे वर्षा हुन सक्ने पूर्वानुमान छ।

भारी वर्षाका कारण गेग्रान बहाव, आकस्मिक बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले नदी तथा खोलानाला आसपास र पहिरोको जोखिम रहेका क्षेत्रमा विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।

देशभर मनसुनी वायुको प्रभाव रहेकाले दिउँसो पहाडी क्षेत्रसँगै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

त्यस्तै, मधेस प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा पनि हल्कादेखि मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

गएराति कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका विभिन्न जिल्लामा वर्षा भएको थियो। मनसुन सक्रिय रहेकाले आगामी समयमा पनि देशका विभिन्न स्थानमा वर्षाको क्रम जारी रहने देखिएको छ।

भारी वर्षा हुन सक्ने क्षेत्रमा स्थानीय प्रशासन तथा सम्बन्धित निकायले जारी गर्ने सूचना पालना गर्न र जोखिमयुक्त क्षेत्रमा अनावश्यक यात्रा नगर्न आग्रह गरिएको छ।