काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेकाले आज पनि विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थान आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर नेपालनजिक रहेको छ।
महाशाखाका अनुसार अहिले देशभर साधारणतया बादल लागेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थान तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
कोसी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा पनि मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका धेरै स्थान तथा बागमती र गण्डकीका तराई भूभागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
आज राति पनि देशभर साधारणतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका धेरै स्थानमा तथा कोसी र बागमतीका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुनसक्नेछ।
सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भने धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।